वैभव लक्ष्मी (अष्टलक्ष्मी) को व्रत कसरी गर्ने

वैभव लक्ष्मी (अष्टलक्ष्मी) को व्रत विशेष गरी सुख, शान्ति, धन-धान्य, ऐश्वर्य र व्यापार-व्यवसायमा प्रगतिको कामना गर्दै शुक्रवारका दिन बस्ने गरिन्छ। यो व्रत महिला वा पुरुष जो-कोहीले पनि बस्न सक्छन्, तर घरकी लक्ष्मी (महिला) ले बस्नु बढी फलदायी मानिन्छ। यो व्रत सुरु गर्नुअघि ११, २१ वा ५१ वटा शुक्रवार व्रत बस्नुपर्छ। यो व्रत शुक्रवारको दिन बिहानैबाट सुरु भए पनि यसको मुख्य पूजा बेलुका सूर्योस्तापछि गरिन्छ।

आवश्यक पूजा सामग्री

  • माता वैभव लक्ष्मी वा अष्टलक्ष्मीको तस्बिर वा मूर्ति।
  • श्रीयन्त्र (यदि उपलब्ध छ भने, लक्ष्मी पूजामा यसको विशेष महत्त्व हुन्छ)।
  • एउटा तामा वा पित्तलको कलश।
  • सिक्का वा गहना: सुन वा चाँदीको गहना वा सफा सिक्का (पूजा गर्दा माताको अगाडि राख्नका लागि)।
  • चन्दन, सिन्दूर, नटुक्रिएको अक्षता, रातो फूल (विशेष गरी कमल वा गुलाब)।
  • धूप, दीप (घिउको दियो) र कपुर।
  • मुख्य प्रसाद: गाईको दूधमा बनाएको खिर (नैवेद्य)।

व्रत र पूजा विधि

  1. पाद्य: भगवानको गोडा धुने जल।
  2. अर्घ्य: सम्मानस्वरूप चढाइने विशेष जल।
  3. आचमन: चोखिनका लागि प्रयोग गरिने सुगन्धित जल।
  4. पञ्चामृत स्नान: दूध, दही, घिउ, मह र चिनी मिसाएर स्नान गराउने।
  5. शुद्ध जल स्नान: पञ्चामृतले नुहाएपछि फेरि सफा जलले नुहाउने। त्यसपछि…
  6. वस्त्र, उपवस्त्र, जनै, चन्दन (अबिर, केशरी), जौ, तिल, लाभा (भुटेको धान), दुबो, श्रृंगार, फूल, धूप (धूपबत्ती), कपुरको दीप (आरती), नैवेद्य (प्रसाद/भोग) र दक्षिणा।
  7. मन्त्र जप: पूजा सकिएपछि "ॐ महालक्ष्म्यै नम:" मन्त्रको १०८ पटक जप गर्ने।
  8. अर्घ्यका सामग्रीहरू: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
  9. आचमनका सामग्रीहरू: कचौरामा जल, कपुर, ल्वाङ, सुकमेल
  10. पाद्यका सामग्रीहरू: कचौरामा जल, जौ, तिल, कुश, अबिर, केशरी

वैभव लक्ष्मी व्रत कथा:
हातमा रातो फूल वा अक्षता लिएर श्रद्धापूर्वक वैभव लक्ष्मी व्रत कथा पढ्नुहोस्। कथा सकिएपछि हातको फूल-अक्षता माताको चरणमा चढाउनुहोस् र कपुर बालेर माता लक्ष्मीको आरती गर्नुहोस्।

भोजन र पारण (व्रतको दिन खाने तरिका)

  • साँझको पूजा र आरती सम्पन्न भएपछि पूजामा चढाएको खिरलाई मुख्य प्रसादको रूपमा ग्रहण गर्न सकिन्छ।
  • विशेष ध्यान दिनुहोस्: यस व्रतमा पनि सन्तोषी माताको व्रत जस्तै अमिलो कुराहरू (कागती, अचार, दही आदि) खानु पूर्ण रूपमा निषेध छ।

उद्यापन (व्रतको समापन)

  1. तपाईले संकल्प गरेको शुक्रवार (जस्तै ११ वा २१ औं शुक्रवार) पुगेपछि व्रतको उद्यापन गर्नुपर्छ।
  2. उद्यापनको दिन अन्य शुक्रवार जस्तै विधिवत् पूजा गर्ने र खिरको भोग लगाउने।
  3. यस दिन कम्तीमा ७ वा ११ जना विवाहित महिलाहरूलाई (सौभाग्यवती स्त्री) घरमा बोलाएर आदरपूर्वक खिरको प्रसाद खुवाउने वा बाँड्ने। महिलाहरूलाई बिदा गरिसकेपछि मात्र व्रतालु आफैंले प्रसाद र भोजन ग्रहण गर्ने।