नागको पूजा र व्रत कसरी गर्ने

प्रत्येक महिनामा दुईवटा पञ्चमी तिथि (शुक्ल पक्ष र कृष्ण पक्षको पञ्चमी) पर्छन्। यी दिनहरूमा नागको पूजा गरेर व्रत बस्नुपर्छ।

पूजा गर्ने स्थान र तयारी

  • स्थान: नागको पूजा घरभित्र नभई घरबाहिर नागको मूर्ति भएको ठाउँ वा कुनै सफा स्थानमा गर्नुपर्छ।
  • पवित्रिकरण: पूजा गर्ने ठाउँलाई गाईको गोबरले लिपेर चोखो बनाउनुपर्छ।
  • मण्डप निर्माण: पूजास्थलको चारवटा कुनामा तितेपातीका लिङ्गा (साना हाँगाहरू) गाड्नुपर्छ र ती हाँगाहरूलाई घेरेर काँचो धागोले ३ पटक बेर्नुपर्छ।

व्रत सुरु गर्दा 
नागलाई स्नान (जल चढाउने) गराएपछि क्रमैसँग कपासको ९ सरो भएको ९ वटा बत्ती बाल्ने र तामाको कलशमा जल राख्ने।
तल दिएको विधिले क्रमैसँग पूजा गर्ने…

  1. तिलानी जल: भगवानको गोडा धुने जल।
  2. अर्घ्य: सम्मानस्वरूप चढाइने विशेष जल।
  3. आचमन: चोखिनका लागि प्रयोग गरिने सुगन्धित जल।
  4. पञ्चामृत स्नान: दूध, दही, घिउ, मह र चिनी मिसाएर स्नान गराउने।
  5. शुद्ध जल स्नान: पञ्चामृतले नुहाएपछि फेरि सफा जलले नुहाउने। त्यसपछि…
  6. व्रत सुरु गर्दाको सामग्री (पहिलो दिन): अबिर, केशरी, जौ, तिल, लाभा (भुटेको धान), सिन्दुर, जनै, कपास, रातो र सेतो ध्वजा (कपडाका ध्वजाहरू), दुबो, फूल, धुप र घ्यूको दीप (बत्ती)।
  7. त्यसपछिको व्रतको दिनमा: चन्दन (अबिर, केशरी), जौ, तिल, लाभा (भुटेको धान), दुबो, फूल, धूप (धूपबत्ती), कपुरको दीप (आरती), नैवेद्य (प्रसाद/भोग) र दक्षिणा।
  8. नैवेद्य (प्रसाद): घ्यूमा पकाएको चामलको रोटी वा खीर नाग देवतालाई चढाउने र साथमा भेटी (पैसा) राख्ने।
  9. मन्त्र जप: पूजा सकिएपछि “ॐ नमोस्तु सर्पेभ्यो ये के च पृथिवी मनु ये अन्तरिक्षे ये दिवितेभ्य: सर्पेभ्यो नम:” मन्त्रको १०८ पटक जप गर्ने।
  10. अर्घ्यका सामग्रीहरू: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
  11. आचमनका सामग्रीहरू: कचौरामा जल, कपुर, ल्वाङ, सुकमेल
  12. पाद्यका सामग्रीहरू: कचौरामा जल, जौ, तिल, कुश, अबिर, केशरी